तिज विशेष कार्यक्रम : किशोरी सेवा केन्द्रद्वारा तिन विद्यालयमा न्यानो कपडा वितरण
काठमाडौं । हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्र दोलखाले गौरीशंकर गाउँपालिकाका तिन वटा स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार संस्थाले तिज विशेष कार्यक्रमको आयोजना गरि गाउँपालिका वडा नम्बर १ मा रहेका विद्यालयहरू मारिओन प्रावि, यार्सा प्रावि र शिवदर्शन प्राविका विद्यार्थीलाई न्यानो कपडा सुइटर, टोपी तथा स्टेशनरी सामाग्री वितरण गरेको हो ।
वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस दोलखाका महिला नेतृ एवं संस्थाकी कोषाध्यक्ष विनीता अधिकारी र सल्लाहकार लक्ष्मी खड्काको उपस्थितिमा मारिओन प्रावि विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्र दोलखाकी अध्यक्ष लेमु दाहालले बताइन् । स्थानीय ३ सयभन्दा बढीको उपस्थितिमा तिज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको थियो ।
हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्रले स्थापना भएको छोटो समयमै दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर हिंसा पीडित महिला तथा किशोरीमा केन्द्रित कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
