ओलीको सेफ जोनमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी
पूर्वप्रधानमन्त्री भर्सेज भावी प्रधानमन्त्रीबिच रोचक प्रतिस्पर्धा हुने आकँलन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने संकेत गरेपछि झापाको राजनीतिक माहोल यतिबेला चर्चामा छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सो निर्वाचन क्षेत्रमा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको नेता बालेन्द्र बालेनशाहले उम्मेदवारी दिने चर्चाले राजनीतिक वृत्तलाई तरङ्गित तुल्याएको हो । जससँगै प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि झापा–५ बाट चुनावी प्रचार सुरु गर्ने तयारीमा भएको रास्वपाले बताउदै आएको छ ।
तर उनले झापा–५ बाटै उम्मेदवारी दिने आधिकारिक निर्णय भने भएको छैन् । तर रास्वपाबाटै चलाइएको चर्चालाई लिएर आम नागरिकको चासोको विषय बनेको छ । बालेनले झापा–५ नै किन रोज्दैछन् भन्नेबारे पनि प्रश्न नउठेको होइन । बालेनका लागि झापा विल्कुलै नयाँ राजनीतिक थलो हो । अर्कोतिर ओलीका लागि देशभरमै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हो झापा– ५ उनी सो निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका हुन् ।
यही क्षेत्रबाट निर्वाचित भएर उहाँले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । यो पटक बालेनले झापा–५ बाटै उम्मेदवारी दिने फाइनल भएको खण्डमा झापा–५ मा पूर्वप्रधानमन्त्री भर्सेज भावी प्रधानमन्त्रीबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
