रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति निरन्तर बढ्दै
पाँच महिनामा रेमिट्यान्स ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब रुपैयाँ
काठमाडौं । मुलुकमा भित्रने रेमिट्यान्स र कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढेको छ । यस्तै कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति समेत १९.६ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्ब ३० अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ४.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने पाँच महिनामा रेमिट्यान्स २९ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको मंसिरमा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कात्तिकमा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । मासिक रेमिट्यान्स आप्रवाह तुलना गर्ने हो भने गत असोजमा २ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन हालसम्मकै उच्च हो । साउन–मंसिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । मुलुकको विदेशी मुद्रा सञ्चितिले गएको ३९ महिनादेखि कीर्तिमानी बनाउँदै आएको छ ।
अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सबल बन्दै जाँदा सरकारलाई ढुक्क भएर पूर्वाधार निर्माण, पुनर्निर्माण तथा विकास खर्च विकासका लागि राम्रो अवसर प्राप्त भएको छ । सरकारले खर्च बढाउँदा आयात बढ्ने र आयातका लागि मुलुकमा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले धेरैभन्दा धेरै खर्च गर्नुपर्ने जानकार बताउँछन् । चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ छ ।
आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत थियो । निजी क्षेत्रमा लगानी भएको कर्जा १ खर्ब २ अर्ब २४ करोड रुपैयाँले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको तुलनामा निजी क्षेत्रमा भएको कर्जा प्रवाह गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ७६ अर्ब रुपैयाँले कम हो । २०८२ मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको छ । यस्तै विकास बैंकहरूको ८.४९ प्रतिशत र वित्त कम्पनीहरूको ९.९१ प्रतिशत छ ।
