sevenstartv.com १० माघ २०८२, शनिवार

विशेष महाधिवेशनका लागि तयारी समिति गठन, सुरक्षाका लागि सिडिओलाई पत्राचार

दुवै पक्षले ‘पार्टी विभाजनको सम्भावना’ अस्वीकार गरे पनि विवाद विभाजन उन्मुख

२३ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीमा जुटेका छन् ।  विशेष महाधिवेशन आयोजक पक्षले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा स्थान बुकिङ पनि गरिसकेका छन् ।

तर, पार्टीको पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै आगामी बैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । १८ पुसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय थापा र शर्मासहित पाँचजना नेताले चुनावअघि नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु अनिवार्य भएको भन्दै पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

यसले कांग्रेसको विवाद नयाँ चरणमा प्रवेश गराउनेछ । तर दुवै पक्षले ‘पार्टी विभाजनको सम्भावना’ अस्वीकार गरे पनि ‘निर्णायक विवाद’ विभाजनकै जोखिमतर्फ उन्मुख छ । यसैबिच महामन्त्री थापा र शर्माले विधानको धारा १७ को उपधारा २ टेकेर विशेष महाधिवेशन आह्वान गर्ने दाबी गरेका छन् । संस्थापन पक्षधर नेताहरुले पुसमै नियमित महाधिवेशनको मिति तय गर्ने र सम्भव नभए पछि सार्ने विषयमा मौखिक सहमति भएको दाबी गरे  । अहिले विशेष महाधिवेशनमा किन जोड दिइँदै छ भन्ने कुरा आफूहरूले बुझ्न नसकेको उनीहरुले बताए ।

यस्तै, शेखर कोइरालापक्षीय नेताले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्छ भन्ने मान्यताका आधारमा हस्ताक्षर अभियान अघि बढाइएको बताए । तर, अहिले मध्यमार्गी विकल्प खोजी भइरहेको  छ । अहिले परिस्थिति फरक दिशातर्फ गएकोले विशेष महाधिवेशन गर्नै हुँदैन भन्ने एक पक्ष र गर्नै पर्छ भन्ने अर्को पक्ष आमनेसामने उभिएको अवस्थामा पार्टीलाई मध्यमार्गी निकास दिन प्रयास भइरहेको जनाइएको छ । कांग्रेस नेता कोइरालाले मध्यमार्गी उपाय सुल्झाउन छलफल थालेका छन्, तर यो प्रभावकारी देखिएको छैन ।

 विशेष महाधिवेशनका लागि तयारी समिति, सुरक्षाका लागि सिडिओलाई पत्राचार विशेष महाधिवेशन पक्षधरले बुधबार विभिन्न १८ समिति गठन गरेका छन् । पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकलपर्सन समन्वय समिति गठन भएका छन् ।

यसैबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता विमलेन्द्र निधिमाथि कांग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले विज्ञप्ति जारी गरी निधिमाथि उनीहरूले दुव्र्यवहार नगरेको प्रस्टीकरण दिएका छन् । निधिमाथि दुव्र्यवहारको नेताहरूले विरोध जनाएका छन् । उनीमाथि दुव्र्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताले मंगलबार साँझ जनकपुरमा महामन्त्री गगन थापाको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरे । प्रदर्शनकारीले महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध पनि नाराबाजी गरेका थिए ।

निधिले विशेष महाधिवेशनको विरोध गर्दै आएका छन् । २७ र २८ पुसमा बहुमत प्रतिनिधि सहभागी गराउने विशेष महाधिवेशन पक्षधरको प्रयास छ । बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नीति र नेतृत्व परिवर्तन गरेर अघि बढ्ने महामन्त्रीद्वयको तयारी छ । बहुमत नपुगे भेलाका रूपमा अगाडि सार्ने उनीहरूको योजना छ । तर, शेखर पक्ष चुनावको मुखमा पार्टी विवाद बढाउन नहुने भन्दै मध्यमार्गी विकल्पमा सहमति खोज्ने प्रयासमा छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्