राष्ट्रिय सभाका १८ सिट बाँडीचुँडी गर्दै प्रमुख दलहरू
जेन-जी आन्दोलनको धक्काले सत्ता–राजनीतिबाट धकेलिएका प्रमुख दलहरू राष्ट्रिय सभा चुनावमा सहकार्य गर्दै
काठमाडौं । जेन–जी आन्दोलनको धक्काले सत्ता–राजनीतिबाट टाढिएका विघटित प्रतिनिधिसभाका प्रमुख राजनीतिक तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने गरी सिट बाँडफाँटको नीतिगत सहमति गरेका छन् । माघ ११ मा १८ सिटका लागि हुने निर्वाचनमा सिट बाँडफाँटका लागि प्रमुख तीन दलबिच ‘नीतिगत सहमति’ जुटिसकेको छ ।
संख्या टुंग्याउन शीर्ष तथा दोस्रो तहका नेताहरूबिच चरणबद्ध छलफल जारी छ । यसमा मधेसकेन्द्रित जसपा नेपाललाई पनि सामेल गर्ने तयारी छ । सम्भावित गठबन्धनबारे दलका बैठकमा समेत छलफल थालिएको छ । फागुन २१ मा राष्ट्रिय सभाका १९ सांसदको पदावधि सकिँदै छ । जसमध्ये १८ जनाको निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
अहिलेसम्मका अनौपचारिक छलफलमा कांग्रेस– ८, एमाले–६, नेकपा र जसपा नेपाल २–२ सिट बाँडफाँट गर्ने कांग्रेस नेताहरूको प्रस्ताव छ । १८ सांसदका लागि ११ माघमा राष्ट्रिय सभाको निर्वाचत हुँदै छ । सात प्रदेशमा हुने भिन्नाभिन्नै मतदानबाट चयन भएर आउनेछन् । निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयर मतदाता हुन् । कार्यकाल समाप्तिसँगै रिक्त क्लस्टरअनुसार नै निर्वाचन हुनेछ । जसअनुसार सबैभन्दा बढी मधेशबाट चारजना चुनिनेछन् ।
जसमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यबाट एक–एकजना निर्वाचित हुनेछन् । त्यस्तै, कोशीबाट महिला, दलित र अन्य एक–एक गरी तीनजना, बागमतीमा महिला र अन्य एक–एक गरी दुईजना, गण्डकीमा महिला र अन्य एक–एक गरी दुईजना चयन हुँदै छन् । लुम्बिनीबाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य एक–एक गरी तीनजना, कर्णालीमा महिला र अन्य एक–एक गरी दुईजना र सुदूरपश्चिममा महिला र अन्य क्लस्टरमा एक–एक गरी दुईजना निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका राखेको छ । त्यस्तै, २४ गते दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
