कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज लगाउने भएको छ । यसका लागि आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ ।
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको छ ।
राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो ।
बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ। निर्वाचनमा निर्णायक मतभार रहेका सबै दलहरूसँग सहमतिको प्रयास भइरहेकाले आजको बैठक निर्णायक हुने कांग्रेसले जनाएको छ।
