समानुपातिक प्रणालीतर्फको बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने आयोगको भनाइ
आगामी माघ ४ गते सूची सार्वजनिक गरिने
काठमाडौं । समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ ।
फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ । आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ सिफारिसमा परेका कलाकार आशिफ शाहले उमेदवारी फिर्ता लिने घोषणा गरेका छन् । भने युवा उद्यमी सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
