बढ्दो आयातलाई कम गरी निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक रहेको व्यवसायीहरूकाे तर्क
काठमाडौं । बढ्दो आयातलाई कम गरी निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । नेपाल निर्यात परिषद्ले दसौँ निर्यात दिवसका अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको आर्थिक विकासका लागि निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकतासाथ अगाडि बढाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका हुन् ।
परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात व्यापार अर्थतन्त्रका आधारका रूपमा रहेकाले यसलाई दिगो बनाउन नीतिगत, स्थायित्व, लगानीमैत्री वातावरण र निर्यात प्रवर्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले निर्यात व्यापारबाट देशमा उत्पादन, रोजगारी, आम्दानी तथा पुँजी प्रवाहमा सिधा सकारात्मक प्रभाव पर्ने भएकाले निर्यातयोग्य नयाँ नयाँ वस्तुको विकास गरी दीर्घकालीन योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको तर्क गरेका छन् ।
यस्तै, परिषद्का महासचिव हरि ढकालले निर्यात बढाउन कच्चा पदार्थ स्वदेशमा उत्पादन गरी निर्यातयोग्य वस्तु पहिचान गर्न आवश्यक रहेको जिकिर गरे । परिषद्ले निर्यातमा पूर्वाधार अभाव, उच्च यातायात लागत, दक्ष जनशक्तिको कमी, साना उद्यमी तथा निर्यातकर्तालाई सहुलियतपूर्ण कर्जा तथा वित्तीय सुविधा उपलब्ध नहुनु, लगायतका समस्याले निर्यात बढ्न नसकेको जनाइएको छ ।
