संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकियाे
काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकिएको छ ।
सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाचौं पटक गरेको म्याद थप अनुसार, आजसम्मका निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, अझै काम पूरा भएको छैन । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको थियो ।
जसले ८ साउन २०८२ मा ६ महिनाभित्र अर्थात् आजसम्म काम सक्ने गरी पाचौं पटक म्याद थप गराएको थियो गत असार १२ मा शहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाँचौं पटक म्याद थपको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार संसद् भवन निर्माणको म्याद ठेकेदारलाई आज सम्मको समय थियो । सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो ।
२०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । पटकपटक म्याद थपेर पनि काम नसकिएको भनेर यसअघि संसद्मै कुरा उठेको थियो । संसद् भवनकै काम समयमा सकिँदैन भने कहाँको सकिन्छ भनेर तत्कालीन सांसदहरूले प्रश्न गरेका थिए ।
प्रश्न उठेपछि राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत जिम्मेवार व्यक्तिहरू संसद् भवन निर्माणको अवलोकन गरेका थिए । तथापि, पाँचौं पटक थपिएको समयभित्र पनि संसद् भवन निर्माणको काम सकिएको छैन ।
