काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।
गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे । तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले पुनरागमन गर्दै प्लेअफको यात्रा तय गरेका हुन् ।
नेट रनरेटमा पछि पर्दा प्लेअफबाट बञ्चित भएको काठमाण्डु यस पटक सुरुवातदेखि भने अब्बल निस्कियो । उसले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो । तर त्यसपछिका २ खेलमा काठमाण्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भयो । पछिल्ला ४ खेलमा शानदार जित हासिल गरेर काठमाण्डु प्लेअफ पुग्यो । तर यस पटक पनि रनरेटकै कारण उसले एलिमिनेटर खेल्नु पर्यो ।
यता गत संस्करण लुम्बिनीका लागि बिर्सनलायक रह्यो। १ मात्र खेल जित्दै पुछारमा रहेको लुम्बिनी यसपटक पनि संकटमा थियो । चितवन राइनोजलाई हराउँदै विजयी सुरुवात गरे पनि ३ खेलमा लगातारको हारले लुम्बिनीको प्लेअफ सम्भावना कठिन देखिएको थियो। काठमाण्डु र लुम्बिनीबीच अहिलेसम्म २ पटक भेट भएको छ । दुवैमा काठमाण्डुले नै जितेको छ। उसले गत संस्करणको लिग चरणमा १८ रन र यसपटक २२ रनले जितेको थियो ।
जारी संस्करण काठमाण्डुले लिग चरणमा ५ जित र २ हार तथा लुम्बिनीले ४ जित र ३ हारको नतिजा हासिल गरेका थिए। आजको विजेताले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्ने छ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

.gif)