sevenstartv.com २४ मंसिर २०८२, बुधवार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : मुरारी भण्डारी छुटे

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर उनले धरौटी बुझाएनन् । धरौटी बुझाए पनि तत्काल थुनामुक्त हुन नपाउने अवस्थामा अधिकारी छन् ।

अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाएर उनी भने रिहा भइसकेका छन्। मङ्गलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा अधिकारीसँग ५ लाख र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो ।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र भण्डारीसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दामा उनीहरूसँग ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।

विशेष अदालतले आइतबार नलिनचोक हेलिपोर्ट भ्रष्टाचारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा छन्। हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीसहित ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्