सेभेन स्टार फोरके टेलिभिजनमा नयाँ कार्यक्रम ‘श्रृङ्गारिक बहस’
काठमाडौं । एक्सट्रिम टेलिभिजन प्रा.लि.द्वारा सञ्चालित ‘सेभेन स्टार फोरके’ टेलिभिजनमा नयाँ कार्यक्रम ‘श्रृङ्गारिक बहस’ को प्रसारण थालिएको छ । आरएएफ प्रोडक्सन प्रा.लि.सँगको सहकार्यमा उक्त कार्यक्रमको निर्माण र प्रसारण आरम्भ गरिएको हो ।
यो कार्यक्रम हरेक हप्ताको आइतबार साँझ ७ः३० बजेको समयमा आउने गरी प्रसारण थालिएको छ । मनोरञ्जन क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरु लक्षित गरिएको यो कार्यक्रमलाई एक रमाईंलो पोड कास्टका रुपमा निर्माण गरिने कार्यक्रमका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । अधिकारी आफैं पनि नेपाली चलचित्र जगतका चर्चित निर्माता तथा निर्देशक समेत हुन् ।
सेभेन स्टार फोरके टेलिभिजनकै स्टुडियोमा छायाँकन हुने यस कार्यक्रमको सञ्चालन उषा पराजुलीले गर्ने गरेकी छिन् भने प्रदीपमान सिंह र दीपक विक्रम सिंहको छायाँकन तथा बिनोद पाण्डेको सम्पादन रहनेछ । निर्देशक अधिकारीका अनुसार हरेक भागमा चर्चित सेलिब्रेटी बोलाएर उनीहरुसँत अन्तरंग कुराकानी गरिनेछ । त्यस्ता सेब्रिेटीहरुका प्रेरणादायी किस्साहरुलाई प्रस्तुत गर्ने यस कार्यक्रमको विशेषता रहेको छ । यो कार्यक्रम सेभेन स्टार फोरके टेलिभिजनका साथै आरएएफ प्रोडक्सनको युट्युब च्यानलमा एकसाथ प्रसारण हुने जानकारी प्राप्त भएको छ ।
