मेला महोत्सवको लागि देश दौडाहमा व्यस्त गायिका रचना रिमाल
काठमाडौं । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेलामहोत्सव आयोजना हुदाँ कलाकारको व्यस्तता बढ्दो छ । मेला–महोत्सवमा दर्शक स्रोताले रुचाएकी गायिकाहरुमध्ये पछिल्लो पुस्ताकी गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन् । पौष ९ गते राष्ट्रिय औधोगिक प्रदर्शनीदेखि सुरु भएको रचनाको यस पटकको महोत्सवको देश दौडाहा दुई दर्जनभन्दा बढी नाघेको छ ।
त्यसयता उनले गल्छी महोत्सव धादिङ, साँस्कृतिक कार्यक्रम इलाम, दोश्रो भन्सार बजार महोत्सव तनहुँ, अत्तरिया महोत्सव कैलाली, न्यु एयर इभ कन्सर्ट झापा दुधे रंगशाला, आठौ पर्वत महोत्सव, कोहलपुर महोत्सव बाँके, तुल्सीपुर महोत्सव दाङ, मरिण महोत्सव सिन्धुली, आठौं बागलुङ महोत्सव बागलुङ, १२ औँ गोरखा महोत्सव गोरखा,रत्ननगर महोत्सव चितवन, उदयपुरगढी गाँउपालिका महोत्सव उदयपुर, घोराही महोत्सव दाङ र बुधवार भाटी मेला गुल्मिमा आफ्नो सांगितिक प्रस्तुति दिएकी छन् ।
रिमालले दैनिकजसो सामाजिक सञ्जालबाट मेला महोत्सवका सांगीतिक प्रस्तुतिको तस्वीर पोस्ट गरिरहेकी छन् । रचनासँग स्टेज कार्यक्रमको सेड्युल लामो छ । रिमाल फेसबुकमा पोष्टर सार्वजनिक गर्दै लेख्ने गरेकी छन् नमस्कार, हजुरहरुको माया र आशिर्वादले यो साङ्गितिक यात्रा सम्भव भैरहेको छ जता पायक पर्छ त्यतै भेटौँ है ।
माघ १ गते माघे संक्रान्ति महोत्सव, कुश्मीसेरा बागलुङामा उनको प्रस्तुती रहने छ । रिमाल गत पौष २२ गते आठौं बागलुङ महोत्सवमा दर्शकमाझ आफ्दो दमदार प्रतुती दिएकी थिइन भने एक साता पछि पुन बागलुङ सदरमुकामबाट दक्षिणमा पर्ने कुश्मीसेरा बाग्लुङमा जाने तयारी छ । त्यस लगत्तै आठौँ प्रादेशिक महोत्सव नेपालगंज बाँके, सांस्कृतिक तथा पर्यटन उत्सव, नुवाकोट, महेन्द्रनगर कंचनपुर, टीकापुर महोत्सव कैलाली, माघी ल्होछार मेला ठोरी पर्सा, गैडाकोट महोत्सव नवलपरासी, बाँसगढि महोत्सव बर्दिया र नुवाकोट महोत्सव बिदुर नुवाकोटको कार्यक्रम तय भैसकेको छ ।
मेला महोत्सवमा मात्र नभएर रिमाल स्टुडियोमा पनि सर्वाधिक व्यस्त हुने गायिकामा पर्छिन् । मंगलबार ७ वटा नयाँ गीत रेकर्डिङ गरेर घोराही महोत्सव दाङमा आफ्नो सांगितिक प्रस्तुति दिन गएकी थिईन । काठमाडौंमा रहेको समयमा दैनिक नयाँ गीत रेकर्डिङ हुने गर्छ ।



















