बागलुङमा गरिने जनवादी गायक जीवन शर्माको एकल साँगीतिकका लागि तयारी सुरु
काठमाडौं । बागलुङमा गरिने जनवादी गायक जीवन शर्माको एकल साँगीतिक साँझकालागि आवश्यक तयारी सुरु गरिएको छ । लामो समयदेखि गरिब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृति विसंगति, महँगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आएका बागलुङको जैमिनी नगरपालिका –९ राङखानी निवासी शर्माको एकल साँगीतिक साँझको तयारी तीब्र पारिएको हो ।
प्रगतिशील लेखक संघ बागलुङको आयोजनामा अगामी माघ २४ गते बागलुङ बजारमा गर्न लागिएको जीवन शर्मा एकल साँगीतिक साँझको तयारी स्वरुप सचिवालय गठन र विभिन्न उपसमिति गठन गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रगतिशील लेखक संघ बागलुङका अध्यक्ष विजय रानाले जानकारी दिए ।एकल साँझ गर्न गत पुस १६ गते प्रगतिशील विचार राख्ने लेखकको सर्वपक्षीय भेलाले रानाको संयोजकत्वमा मूल समिति गठन गरेको थियो । मूल समितिको बैठकले आर्थिक, प्रचारप्रसार, टिकट व्यवस्थापन, मञ्च तथा प्राविधिक, स्वयंमसेवक तथा सुरक्षा र फोटो भिडियो उपसमिति गठन गरेको रानाले बताए ।
आर्थिक उपसमितिको संयोजकमा विनोद प्रतिक थापा, सदस्यमा तारानाथ आचार्य र रेजिना खत्री, प्रचारप्रसार उपसमितिको संयोजकमा खेमराज गौतम सुवास, सदस्यहरुमा ताराप्रसाद शर्मा र यमबहादुर थापा, टिकट व्यवस्थापन उपसमितिको संयोजकमा आश्विन शेख, सदस्यहरुमा घनश्याम कँडेल र अमृत सापकोटा रहेका छन् । मञ्च तथा प्राविधिक उपसमितिको संयोजकमा दिलीप प्रतेल निशान बिक, निता छन्त्याल, स्वयमसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा रोहित सुनारसहित प्रवुद्ध युवा समूह र फोटो भिडियो संयोजकमा दिनेश जिसी र सदस्यमा सुजन रेग्मी रहेका छन् ।
सचिवालय समितिमा मूल संयोजकसहित उपसमितिका संयोजकहरु रहने बताइएको छ । एकल साँझकालागि ६ लाख रुपैयाँ खर्च अनुमान गरिएको तथा विभिन्न प्रायोजक, स्थानीय तह, टिकट, संघसंस्थाबाट आर्थिक संकलन गरि कार्यक्रम गर्ने तयारी गरिएको छ ।
