sevenstartv.com ८ चैत २०८२, आइतवार

राष्ट्रपति पौडेलद्वारा भगवती रथजात्रा अवलोक

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औँ रथजात्रा (खटयात्रा) को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज पाल्पा पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका हुन्  । 

राष्ट्रपतिलाई जनस्तरबाट समेत स्वागत गरिएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पुगेका हुन् । 

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् । 
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरे । राष्ट्रपति पौडेलले द फेमस महिन्द्र दल गणको निरिक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गरेका थिए । 

राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्  । पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरवार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने चाहना र प्रयासलाई मूर्त रूप दिन सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रपति पौडेलले रथ यात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पुरा हुने विश्वास व्यक्त गरेका बताइएको छ । नेपाल-अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट ९पाल्पा० जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्