sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

गण्डकी प्रदेशमा ६५ सवारीसाधन चोरी

७ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भेटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चार पाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । 

चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ ।  तर एउटा पनि फेला परेको छैन । पार्किङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधन चोरी हुने सङ्ख्या बढ्दो छ । विसं २०८१ माघ ११ गते कुस्मा नगरपालिका ५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका ३ गुठीको एक घरमा पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो । सुजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै खोजतलासका लागि उजुरी दिएको भए पनि हालसम्म भेटिएको छैन । 

गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र त्यसपछि सवारी हराउनेको शीर्ष स्थानमा बागलुङ रहेको छ । गत आर्थिक वर्षमा कास्कीमा १ चार पाङ्ग्रे र ४१ वटा दुई पाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चार पाङ्ग्रे र १४ वटा दुई पाङ्ग्रे गरी १५ वटा फेला परे । २७ वटा दुई पाङ्ग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन । 

फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसै गरी नवलपुरबाट १६ वटा दुई पाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो । जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुई पाङ्ग्रे सवारी हराएको उजुरी परेको छ ।  गत आर्थिक वर्षमा बागलुङबाट १ चार पाङ्ग्रे र ३ दुई पाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो ।

जसमध्ये १ चार पाङ्ग्रे र १ दुई पाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरी ३ वटा दुई पाङग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । त्यसै गरी गत आर्थिक  वर्षमा तनहुँमा २ वटा दुई पाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् । गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेटिएको छैन । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्