sevenstartv.com १९ वैशाख २०८३, शनिवार

होटलमा युवती मृत फेला

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । हेटौँडाको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन् । हेटौँडा–१०, भुटनदेवी मन्दिर रोडस्थित रत्न होटलको कोठाभित्र युवती मृत फेला परेकी हुन् । आइतबार साँझ होटलको कोठा बुक गरेर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौँडा–११ की २३ वर्षीया एलिशा न्यौपाने आज बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा एक युवकसँग न्यौपाने होटल पुगेकी थिइन् । आज बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको बताइएको छ । 

न्यौपानेसँगै आएका युवकले उनको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको प्रहरीको प्रारम्भिक अनुमान छ । आइतबार साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको देखिएको छ । मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्