भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चकाे अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
असार २८ गते राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको भन्दै अधिवक्ता रामबहादुर राउतसहितले सर्वोच्चमा रिट दर्ता गरेका थिए । साउन ७ गते गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पनि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सबै स्थानीय तहहरूलाई निर्देशनसहित परिपत्र गरेको थियो ।
हाल पनि स्थानीय तहहरूले विभिन्न बहाना लगाएर ज्येष्ठ नागरिकलाई दुख दिइरहेका छन् । मन्त्रिपरिषदबाट जेठ २४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गते राजपत्रमै सूचना प्रकाशन भएको थियो । त्यसपछि यसको चौतर्फी विरोध भएको थियो ।
