ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु
काठमाडौं । संखुवासभाको मादी नगरपालिका-२ प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी मंगलबारेमा ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार निरौला शनिबार दिउँसो ड्युटी गर्दागर्दै अचानक लडेर बेहोस भएपछि उपचारका लागि तेह्रथुमको बसन्तपुरमा लगिएको थियो । प्रहरी साहयक हवल्दार निरौलालाई तेह्रथुम जिल्लाको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा गएराति मृत घोषणा गरिएको थियो । मृतक हवल्दार निरौलाको शव सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आज पोष्टमार्टम गरिएको छ ।
पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ घर भई केही वर्षयता संखुवासभा जिल्लामा कार्यतर थिए ।
