बैतडीमा अविरल वर्षा
काठमाडौं । बैतडीमा लगातारको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आकस्मिक अवस्थाबाहेक यात्रा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको हो । मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई अनुरोध गरिएको छ ।
यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउनु पर्ने छ ।

.gif)