आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
काठमाडौं । आज तीजको दिनमा विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली (आकाशभरि बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ । कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति देशको पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ । कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।
यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ । त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।

.gif)