तनहुँ बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शव भारत पठाइयो
काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ ।
शनिबार दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको हो ।शुक्रबार तनहुँको आँबुखैरहनीमा भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको हो ।
दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारत सरकारका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से शनिबार बिहान नेपाल आएका थिए ।
काठमाण्डौ ओर्लिए लगत्तै उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुगेका थिए । घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबार स्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए ।
गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै सन्तोष व्यक्त गरेका छन । उनले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको गरे ।
भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
