मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले आज दिउँसो बोक्सेखोला थुनिएको छ । मूलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको बताइएको छ ।
आज दिउँसो करिब १:३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । आसपासमा बस्ती नभए पनि बेनी-जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ । हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाएको बताइएको छ ।
ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि सतर्कता अपनाउनुपर्नेछ । ‘बेनी-जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
