महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने
काठमाडौँ । नेपालमा महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने भएको छ ।
नेपालले सन् २०२६ मा हुने विश्वकपका लागि फेब्रुअरी १२ देखि १६ सम्म ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्न लागेको आईसीसीले जनाएको छ । १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन् ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै ठूलो प्रतियोगिता हुनेछ । बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन् । एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ । अफ्रिका र युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ ।
नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिने भएको छ ।

.gif)