sevenstartv.com २० वैशाख २०८३, आइतवार

विद्यार्थी संगठनहरुद्वारा त्रिविमा सरकार संरक्षित आतंक रोक्न माग

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौँ । विभिन्न ६ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न माग गरेका छन् ।

बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (समाजवादी), नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न, देशका सबै विश्वविद्यालयमा भैरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । ती संगठनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा आफ्नो अनुकुलको विभागीय प्रमुख नतोकिए जे पनि हुनसक्छ भन्ने सत्तारुढ पार्टी निकट विद्यार्थी संगठनका एक नेताले धम्की दिएको र सो धम्कीपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय जान नसकिएको आरोप लगाएका छन् । 

साथै अर्का एक सत्तारुढ दल निकट विद्यार्थी नेताले विश्वविद्यालयमा लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकलाई छातीमा समातेर पछारेको भन्दै विद्यार्थी संगठनले सो कार्यको निन्दा गरेका छन् । यी दुवै घटनाको भर्त्सना गर्दै ती संगठनले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

साथै विद्यार्थी संगठनले विश्वविद्यालयमा भैरहेको गुन्डागर्दी र राज्य संरक्षित आतंकको विरुद्धमा संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनीहरुले आगामी भदौ ७ गते शुक्रबार बिहान ११ बजे त्रिवि कीर्तिपुरमा संयुक्त विरोध प्रदर्शनको घोषणा गरेका हुन् ।   

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्