इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
काठमाडौं । दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए। नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो ।
दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरीले बताएको छ ।
