भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल
काठमाडौं । नेपालले भुटानविरुद्ध २९८ रनको फराकिलो जित निकालेको छ । मलेसियामा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा भुटानलाई विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटानका अन्तिम ब्याटर क्रिजमै नआएकाले नेपाललाई विजेता बनाइयो । भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन हाने । उता ओपनर उयोग छोफेल १० रनमै आउट भए । भुटानका अरू कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।
बलिङतर्फ नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन दिँदै ४ विकेट झारे । उता सचिन भट्ट र सुयोग भट्टराईले समान २र२ विकेट झारे ।
त्यसअघि टस जितेर ब्याटिङमा गएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल चुनौती खडा गरेको थियो ।
नेपाललाई विशाल लक्ष्यतिर लैजाने क्रममा रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । १७ रनको अवस्थामा २ विकेट गुमाएर दबाबमा परेको नेपाललाई तेस्रो विकेटकारुपमा रौनक र शिवान्श बजगाईंले ९१ रनको साझेदारीसहित जोगाए । शिवान्शले ५२ बलमा ५ चौकासहित ५४ रन हानेका थिए ।
त्यसपछि रौनकले चौथो विकेटका लागि सुगम बुढाथोकीसँग मिलेर ७२ रनको साझेदारी गर्न सफल भए । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन बनाए ।
पाँचौँ विकेटका लागि रौनकले जोय थापासँग १३० बल खेल्दै १७० रनको साझेदारी गरे। जोय ६७ बलमा ७ चौका हान्दै ६१ रनमा अविजित रहे ।
यसअघि शतक बनाएका प्रसिद्ध जैसी ७ रनमा आउट भए । परिमार्जन यादव २ रनमा बाहिरिए । भुटानका लागि सञ्जय दोर्जेले ३ विकेट लिए ।
भुटानविरुद्धको जितपछि नेपाल समूह ‘ए’ का चारै खेल शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको छ ।
एसियाली क्रिकेट परिषद् ९एसीसी० द्वारा आयोजित प्रतियोगितामा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान समूह ‘ए’ मा छन् । मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार समूह ‘बी’ मा छन् ।

.gif)