माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रस्तुत हुनुभएको बताउनु भयो । उहाँले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताउनुभयो । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो । हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नुपर्छ । छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ । गृहमन्त्रालय र सरकारले छानविन समिति नबनाएसम्म छानविन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ ।’
