दिवंगतको सम्झनामा गाईजात्रा मनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा आज गाईजात्रा मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ ।
गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ । काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।
भक्तपुरमा बाँसमा मृतकको तस्विर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर घिन्ताङ् घिसी नाच देखाइँदैछ । पाटनमा पनि बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउँदै मनाइँदैछ । उपत्यकाबाहेक नेवार समुदायको बाहुल्य भएका देशका अन्य भागमा पनि गाईजात्रा मनाइन्छ ।
मुख्य दिन भाद्र कृष्ण प्रतिपदा भए पनि अष्टमीका दिनसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान गर्ने परम्परा छ । गाईजात्राका अवसरमा आज काठमाडौ उपत्यकामा सार्वजनिक बिदा छ ।
