जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी छन् ।
राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आज धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राखेका हुन् ।
उनले भनीन् 'राहदानी अब नागरिकको कुनै विलासिताको बस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ । त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ । सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला ।'
उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरुले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिएकी छन् ।
अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन् कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा राणाले बताइन् । मन्त्री डा. राणाले राहादानी सम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरीन् ।
