चार संसदीय समितिकाे बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज चार समितिको बैठक बस्ने भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको ७६ औँ बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ । बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधि सहभागी रहने सम्मेलनबारे छलफल हुनेछ । उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ। बैठक बिहान साढे ८ बजे बस्नेगरी बोलाइएको छ ।
सार्वजनिक लेखा समितिको बैठक बिहान १०ः३० बजे बोलाइएको छ। बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ७३ औँ बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
