पोखरामा विद्यार्थी चढेको बसमा आक्रमण, ५ जना घाइते

काठमाडौं । पोखरामा विद्यार्थी चढेको बसमा आक्रमण भएको छ । आक्रमणमा ५ विद्यार्थी घाइते भएका छन् ।
विद्यार्थी चढेको बसमा ढुंगा हानेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले जानकारी दिनुभएको छ ।
त्यो नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो । पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।
पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।