यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी
तयारी अवस्थामा नबसे ठूलो क्षति हुने चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताए । उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताएका छन् ।
उनले यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताएका छन् । उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराए ।
यस्तै, उनले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिए ।

.gif)