सोलुखुम्बुको थामेमा दुई हिमताल फुटेर बाढी आएको पुष्टि
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ ।
शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको बताइएको छ । अन्य दुई वटा अझै फुट्ने खतरामा रहेको बताइएको छ ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने अवलोकनमा गएको टोली शनिबार साँझ फर्केपछि विस्तृत जानकारी दिन सकिने बताएको छ ।
