संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि
काठमाडौं । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन शुक्रबारदेखि शुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा अधिवेशन सुरु हुनेछ ।
नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय-समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।
संसदको हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ। यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । संसद सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।
