सोलुखुम्बुको थामे बाढीमा फसेका ७ जनाको उद्धार, बाढीले १४ घर बगायो
काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरीएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले ले बताए ।
थामे गाउँमा पसेको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो ।यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिइन् ।
उनले मानवीय क्षतिको विवरण नआएको बताइन् ।त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् । आज दिउँसो २ बजे बाढी आएको थियो ।
