गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक आइजीपीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।
