sevenstartv.com २० वैशाख २०८३, आइतवार

सार्वजनिक यातायातमा जीपीएस र सीसी टिभी जोड्न सरकारको निर्देशन

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले यातायात व्यसायीलाई दुर्घटना न्यूनीकरणका लागि विभिन्न निर्देशनात्मक सुझाव दिए सँगै  यातायात व्यवसायीहरूलाई सवारी र यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन दिएको छ ।गृहमन्त्रालयले सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै सार्वजनिक यातायातलाई ११ बुँदे निर्देशन दिएको हो ।

गृह मन्त्रालयले यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यावहारमा उतार्न भनेको छ ।यस्तै सबै सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न, तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्न र आ–आफ्ना सार्वजनिक सवारी साधनमा सीसी टिभी र ट्रान्सपोन्डरको व्यवस्था गर्न समेत गृहको निर्देशन छ ।

सबै चालक तथा सहचालकसँग रोजगार सम्झौता अनिवार्य रुपमा गर्न र न्यूनतम तलबरज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न पनि सरकारले व्यवसायीलाई निर्देशन दिएको छ ।शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरूलाई प्रशिक्षित गर्न, चालकहरूलाई सुरक्षित ड्राइभिङ्ग सम्बन्धी नियमित रूपमा तालिम दिन र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्न समेत पत्रमा भनिएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्न र लामो बाटोमा यातायात चलाउने यात्रुवाहक सार्वजनिक सवारीले कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न समेत निर्देशनमा भनिएको छ ।

यातायात व्यवसायी तथा मजदुरहरूको आचारसंहिता बनाइ लागू गर्न, चालक तथा सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्न, टिकट काउन्टरमा बस्ने कर्मचारीहरूलाई अनिवार्य परिचयपत्र र तोकिएको पोशाक लगाउन र मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्न समेत व्यवसायीलाई सरकारको निर्देशन छ ।सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउन समेत पत्रमा भनिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्