'देशमा लोडसेडिङ हुँदा खुशी हुनेहरू मेरो विरोधमा छन्'
काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताएका हुन् ।
उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको बताए । उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताएका छन् । उनले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए ।
उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरेका छन् ।
उनले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । उनले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताएका छन् । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताए ।
