सेती नदी जलविद्युत् आयोजना सम्पन्न
काठमाडौं । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका(२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । आयोजना नदी जलप्रवाहमा आधारित छ ।
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए। सेती नदी जलविद्युत आयोजना २०७७ को अन्तिममा काम शुरु भएको थियो ।
