आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ ।
मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो । आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको छ ।
मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । भोटोजात्रा सकिएपछि शुक्रबार मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ ।
उपत्यककाको सबैभन्दा लामो जात्राका रुपमा परिचित मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुने गर्दछ । भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजानिक विदा दिएको छ।
