आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
दिवसको यस वर्षको नारा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने तय गरिएको छ । दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदैछ ।
त्यसअघि बिहान सात बजे काठमाडौंको भृकुटीमण्डपबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अगुवाइमा प्रभातफेरि आयोजना हुँदैछ । यस्तै बिहान नौ बजेपछि होटल याक एण्ड यतीमा राष्ट्रपतिले मूल समारोह उदघाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपछि युवाका सरोकारका विषयमा युथ समिट (युवा सम्मेलन) हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
सन् १९९८ अगस्ट ८-१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आ-आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो ।
सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४ औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको हो ।
नेपालमा दिवस मनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको थियो ।




















