पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध
काठमाडौं । पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ ।
पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी-दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो । उक्त सडक खण्डको बेनी नगरपालिका वडा नं ४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका वडा नं ६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका वडा नं २ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको बताइएको छ ।
पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । करिब १८ वर्षअघि सडक खन्नुअघि नै यहाँ पहिरोको जोखिम थियो ।
पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।
