आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
काठमाडौं । आज ३० औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ, नेफिनका अनुसार यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’ भन्ने मूल नारासहित दिवस मनाइँदैछ ।
यस्तै दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा-प्रतिष्ठानमा पनि कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ ।
