आज साँझ देखि वर्षा कम हुँदै जाने
काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ ।
बाढी पूर्वानुमान शाखाका अनुसार पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जानेछ । आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुने शाखाले जनाएको छ । तर ठ्याक्कै नरोकिने बताएको छ ।
नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ । शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ ।
नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् । पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् ।
समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ ।

.gif)