आजदेखि मिथिला क्षेत्रमा जितिया पर्व सुरु
काठमाडौं । मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको हो ।
श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधवार साँझ ५स्१५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ ।
तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मंगलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभर उपवास बस्नुपर्ने छ । बुधबारकै दिन साँझ ५स्१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ ।
