आजका प्रमुख सात समाचार
काठमाडौँ ।
विपद्ले मृत्यु
नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायतका विपद्जन्य घटनामा परी १५० जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार शनिबारसम्म बाढीपहिरोलगायतका विपद्जन्य घटनामा परी १५० जनाको मृत्यु भएको हो । गत जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २५ जनाको मृत्यु भएको छ । मधेसमा ६, वाग्मतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी १५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परी देशभर ४९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौं उपत्यकामा १०, कोसी प्रदेशमा ३७ जना घाइते भएका छन् ।
मधेसमा १०, वाग्मतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा ११, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १७७ जना घाइते भएका तथ्यांक छ । बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४२, गण्डकीमा दुई, लुम्बिनीमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता छन् ।
काठमाडौं उपत्यकामा २६, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी १०८ जनाको उद्धार गरिएको छ । यो अवधिमा विपद्का घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ ।।
सभामुख
सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् ।
डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको उनले बताए ।
ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताए ।
उनले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गरे ।
सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।
योगेश भट्टराई
सत्तारुढ नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् ।
ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताए ।
संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उहाँले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे ।
सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे ।
सचिव भट्टराईले सरकारले मुलुकमा वाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि व्यक्त गरे ।
कर्णाली मुख्यमन्त्री
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन् ।
उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उहाँले गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत पाएका थिए । तर, केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।
चलचित्रमा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरुको जीवनीमा आधारित चलचित्र नमेटिने घाउमा स्वराङकन गरेका छन् ।
शनिबार काठमाडौंको अनामनगरमा रहेको एक रेकर्डिङ स्टुडियो पुगेर प्रधानमन्त्री ओलीले आफूले गरेको अभिनयमा स्वराङकन गरेका हुन् । चलचित्रमा उनले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।
२०७७ सालमा एसिड पीडितका पक्षमा अध्यादेश ल्याउँदा ओली प्रधानमन्त्री थिए । त्यसै कारण ओलीले सोहि भूमिका ओलीले निर्वाह गरेकोे चलचित्र निर्देशक रमित ढुङ्गानाले जानकारी दिए ।
उक्त चलचित्रमा पूर्व प्रधानमन्त्री माधव नेपाल, बिभिन्न दलका नेता, एसिड पिडितहरु मुस्कान खातुन लगाएतले अभिनय गरेका छन् ।
राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारका रुपमा लिनुपर्ने हुन्छ । हाल ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित कर्जा र एक अर्ब वा सो भन्दा बढीको गैरकोषमा आधारित कर्जा उपयोग गर्ने ऋणीको पनि क्रेडिट रेटिङ अनिवार्य गरिएको छ ।
एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले ऊर्जा बण्डलाई क्षेत्रगत कर्जाका रुपमा गणना गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको हो ।
त्यसैगरी, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले ल्याएको छ ।
नेपालको जित
काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउदैँ एतेहासिक जीत निकाल्न सफल भएको हो ।
