जनमत पार्टीका अध्यक्ष राउतले गरे संसदीय राजनीतिबाट सन्यास लिने घोषणा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उहाँको भनाइ छ । सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।
त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन । सप्तरी २ बाट चुनावमा प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भएका थिए ।
जनमत पार्टीका प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि चुनाव जितेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन । अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताए । आफू सदैव जनताहरूको बीचमा नै रहने, हरेक मोर्चा र संघर्षमा खडा हुने, अधिकार र पहिचानको लडाईंमा सदैव भूमिका निर्वाह गर्ने पनि उनको तर्क छ ।
