sevenstartv.com २० फागुन २०८२, बुधवार

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

२० फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचन आयोगले मतदान केन्द्रसम्म निर्वाचन सामग्री ढुवानीदेखि आकस्मिक स्वास्थ्य व्यवस्थापनसम्मका कामलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकाय र स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकेको छ । 

व्यवस्थापनकै दृष्टिले जटिल मानिएका देशभरका हिमाली जिल्लामा मतदानको तयारी केही ठाउँमा चुनौतीपूर्ण बनेको छ । हिमपात, अवरुद्ध सडक तथा प्रतिकूल मौसमका बाबजुद पनि निर्वाचन सामग्री ढुवानी र कर्मचारी परिचालनको काम सकिएको छ । कतिपय दुर्गम स्थानमा हेलिकोप्टरमार्फत सामग्री पु¥याइसकिएको छ । जाडो छल्न बाहिरिएका अधिकांश मतदाता अझै गाउँ नफर्किएकाले ती क्षेत्रमा अत्यन्त न्यून मतदान हुने अनुमान गरिएको छ । 

हिमाली बस्तीमा मतदाता सङ्ख्या पहिलेदेखि नै सीमित रहेकामा मौसमी बसाइँसराइका कारण मतदान प्रतिशत झन् घट्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रका स्थानीयवासीले अहिलेको समय निर्वाचनका लागि अनुकूल नरहेको बताउँदै आएका छन् । मौसम, यातायात र मतदाता उपस्थिति जस्ता पक्षलाई मध्यनजर गर्दै भविष्यमा निर्वाचन तालिका निर्धारण गर्दा भौगोलिक यथार्थलाई ध्यान दिनुपर्ने उनीहरूको माग छ । मुस्ताङका सबै मतदान केन्द्र सडक पहुँचमा पुगे पनि मतदाता न्यून छन् । मुस्ताङमा जम्मा मतदाता सङ्ख्या ११ हजार ३ सय २८ छन् । तर, चिसोका कारण यहाँका मतदाताहरू प्रायः पोखरा, काठमाडौँलगायतका क्षेत्रमा जाने चलन रहेकाले बिस्तारै फर्किने क्रम बढिरहेको बताइएको छ । 

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा रहेका ४ वटा मतदान केन्द्र छन् । सडक यातायातको पहुँच नभएका ती क्षेत्रमा अहिले निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी हिँडेरै गएका छन् भने मतपेटिका ल्याउँदा हवाई मार्ग प्रयोग गर्ने तयारी भइरहेको छ । दार्चुलाका व्यास र अपि हिमाल गाउँपालिकाका केही क्षेत्र हिमाली भेगमा पर्दछन् । व्यासको तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकैको टिङ्करखेडामा मतदानको व्यवस्था गरिएको छ । 

छाङ्रुमा ३७५ र तिङ्करमा २४४ मतदाता छन् । उपल्लो डोल्पामा अत्यधिक चिसोका कारण धेरै मतदाता जिल्ला बाहिर छन् । स्थानीय तहले आग्रह गरे पनि प्रतिकूल मौसमका कारण सबै फर्किने सम्भावना कम छ । डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका १३ सयभन्दा बढी (कुल मतदाताको ३० प्रतिशत) मतदाता बाहिर रहेको सर्वेक्षणले देखाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्