कोदोको उत्पादन घट्दै, उपभोग र आयात बढ्दै, खेती गर्ने जनशक्ति अभाव
काठमाडौं । पछिल्लो समय बजारमा कोदोको उपभोग बढ्दै गए पनि उत्पादन भने घट्दै गएको छ । स्वास्थ्यका लागि लाभदायक हुने हुँदा कोदोको उपभोग बढी हुन थालेको छ । कोदोको खपत बढ्दै गए पनि पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा कोदोको उत्पादनसँगै खेती गर्ने क्षेत्रफलसमेत घट्दै गएको छ । खेती गर्ने जनशक्ति नहुँदा पनि यसको उत्पादन घट्दै गएको हो ।
कोदोबारे सचेतना बढ्दै गएकाले उपभोग बढ्दै गएको छ । कोदोको उत्पादन बढाउन तिनै तहका सरकारले रैथाने बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । अनुदानमार्फत ८८ वटा पालिमा रैथाने बाली प्रवर्धन गर्नका लागि ‘मन्कालउ’ ले छ करोड रुपियाँ बजेट पठाएको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रिक टन उत्पादन भएको थियो ।
यस्तै आव २०७९÷८० मा दुई लाख २७ हजार ९३४ हेक्टर क्षेत्रफलमा तीन लाख १० हजार ८४७ मेट्रिक टन, आव २०७८÷७९ मा दुई लाख ६७ हजार ७१ हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार ४६२ मेट्रिक टन कोदो उत्पादन भएको थियो । कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ । बजारमा खपत बढ्दै गएपछि स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट कोदो आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो साढे चार वर्षमा साढे दुई अर्ब रुपियाँभन्दा बढीको कोदो आयात भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ देखि चालु आव २०८२÷८३ को छ महिनामा (साउन–पुस) दुई अर्ब ६७ करोड ३० लाख रुपियाँ बराबरको कोदो आयात भएको छ । विभागका अनुसार चालु आव २०८२÷८३ को सात महिनामा ३७ करोड ५९ लाख ५५ हजार रुपियाँ बराबरको ७४ लाख ३८ हजार ४०८ केजी कोदो आयात भएको छ । यस्तै आव २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपियाँ बराबरको एक करोड ५३ लाख १५ हजार ९०६ केजी कादो आयात भएको थियो ।
यस्तै आव २०८०÷८१ मा ७५ करोड ८९ लाख तीन हजार रुपियाँ बराबरको एक करोड ५२ लाख ९८ हजार १८३ केजी, अव २०७९÷८० मा ७३ करोड २० लाख १३ हजार रुपियाँ बराबरको एक करोड ८४ लाख तीन हजार ४८९ केजी र आव २०७८÷७९ मा तीन करोड ९९ लाख २३ हजार रुपियाँ बराबरको ११ लाख ९५ हजार केजी कोदो आयात भएको थियो । कोदो र कोदोको बिउ आयात हुने गर्छ । भारत, चीन र कतारबाट नेपालमा कोदो आयात हुने गर्छ । नेपालबाट भने न्यून परिमाणमा मात्र कोदो निर्यात हुने गर्छ ।
कोदोमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदोमा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुग्ने बताइएको छ । यस्तै कब्जियत र ग्यासको समस्या भएकाले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाँदा लाभदायक हुुन्छ । मधुमेहबाट बच्न कोदोका परिकार लाभदायक हुन्छ । पछिल्लो समय होटेल, रेस्टुरेन्टदेखि मेला महोत्सवमा कोदोका परिकार बनाएर बिक्री गरिन्छ ।
